मेरो तराई सम्झना

हाम्रो घर पहेलो रङ्गको,

भकारी माटो रङ्गको अनि भकारी माथिको जस्ता समयको रंगको;  पानि ले खाएको-

रातो रातो कालो कालो खिया

त्यसरी नै समयले खाएको मेरो हजुरमा को अनुहार

साल दर  साल पहाडलाई बर्षात पर्दा, त्यो भेलले बनाएको बाटो

मेरो हजुरमाको अनुहारमा कत्ति -कत्ति

हाम्रो लालबन्दिको खेतमा उखु लाको छ रे

तर लालबन्दिबाट जो-कोहि आउथ्यो- उखु होइन गन्ना ल्याउथियो

म खुब गन्ना खान्थे- कति खान्थे?

खै !

गन्ना खान आउथ्यो – गणना  गर्न अहँ  !

हाम्रो आँगनमा भएको बुढो cycle मलाई मेरो हजुरबुवा जस्तै लाग्थियो

जमानामा त्यो cycle  हरियो थियो- मेरो हजुर बुवा जस्तै

जमानामा हजुर बुवा पनि हरियो हुनु हुन्थियो रे

मैले चिनेको हजुर बुवा सेतो कुर्था

खैरो छडी- एक माला रुद्राक्ष

अनि छिन्-छिन् मा  राम भन्नु हुन्थ्यो

See  जनकपुरमा राम भन्नु स्वास फेर्नु जस्तै हुन्थ्यो

अनि पुण्य भने संकट मोचन को ultra sweet पेडाको रुपमा पायिन्थ्यो
तर हज़ूरबा पुण्यमा भन्दा पनी कर्ममा बिश्वास गर्नु हुन्थियो
नाती- जिन्दगी भनेको motercycle होइन। बिधि ले जति पेट्रोल हालेको छ पूरपुरोमा— त्यति गुड़ने
घुर्र कान बटार्यो अनि हिड्यो
जिन्दगी त साइकिल हो , आफ्नो बलमा चाल्नु पर्छ
सकून जेल । अणि फेरी साइकिल को चक्र जस्तै हो जिन्दगी
पुन रपि खुट्टा माथि – पुनरपि खुट्टा तल
एउटा खुट्टाको उदय हुँदा अर्को को पतन हुन्छ
तर अन्ततोगोतवा जीत साइकिल को हुन्छ
उमेर हुँदै धेरै गर्नु पर्छ,
हेर त!
म त बूढो भई सके ,आफ्नो उमेरमा मैले तिमिहरूलाई सवार गराई रिक्सा- त्यों पानी साइकिल त हो- यहाँ सम्म ल्याए, तेरो बा पछी तेरो पालो– एक ज्यान हुँदा साईकिल दुई ज्यान हुँदा बेक सीट वाला साईकिल – परिवार तान्न रिक्सा
मलाई त सानो छदा– ठुलो भए पछि साचिकै रिक्सा चलाउनु पर्छ की भन्ने लाग्थ्यो
म त पढ़े लेखेको मान्छे।।।
त्यति बेला सम्म 5 कक्षा पढ़ी सक्या थिए
खूब जानने म
मैले कहा रिक्सा चलाउने
म त हजुर बा डोजर चलाउछू डोजर भन्थे रे
न भन्दै इंजीनियर बनियो ।।।
हज़ूर बा ले मैले पाँच कक्षा सम्म पढेको – यसले फुर्ती लायो भन्ठान्नु भो क्यारे
हेर् नाती !
धेरै फुर्ती लाऊनु हुन्न
जनकपुरमा फुर्ती भनेको खुट्टामा लगाउने बस्तु हो
चप्पल सम्म ठीक ठिकै हुन्छ -जुत्ता लाएर हेर् त यो गर्मीमा आफैलाई पोल्छ
जनकपुरमा गर्मी सारो हुन्थ्यो तेसैले मान्छे जुत्ता लाउदैन थिए
यो कुरा हज़ूरबा ले मलाई भन्नु भएन
7 साल तीरका क्रांतिकारी थिए रे हज़ूरबा –
उनको कुरामा इन्कलाब को बासना हुन्थ्यो रे
मलाई त्यति बेला कुराको वासना पत्ता लगाउन आउदैन थियो
अहिले अली मेसो पाउछु
जा बाहिर अनि हेर् कति जाना ले फुर्ती लगाएका छन्
अनि म खुर्र दुगर्दै घर बाहिर निस्के
घरको आँगनमा कोही पारिजात टिप्दै थियो
उसको खुट्टा only चप्पल no जुत्ता
हज़ूरमा को खुट्टा only चप्पल नो जुत्ता
अनि हाम्रो घर नजिकै एउटा पुस्तकालय थियो
जो जो थिए सब चप्पल no जुत्ता
अझ संकटमोचन हनुमान कहाँ पुग्दा बड़ो ग़ज़्ज़बको कुरा देखे
मंदिर भित्र सबै खाली खुट्टा
सबैले भगवान कहा जादा आफ्नो जस्तो सुकै फुर्ती होस् -कालो सेतो ठुलो सानो महँगो सस्तो छाला कपड़ा – ढोका बाहिर छोडेर जादा रैछन्
चप्पल पानी छैन
जानकी मंदिरबाट बाहिर निस्कदा चाहि मलाई मेरो फुर्ती खोज्न एकछिन समय लाग्थयो
त्यहाँ बड़ोबड़ो संख्यामा मान्छेहरु फुर्ती छोड्न आउथे ऊनिहरु को फुर्ती को भीड़ मा मेरो सानो पुण्टे फुर्ती कहाँ हराउथयो कहा
एक पटक त जत्ती खोजे पानी भेट्टाइन
अनि खाली खुट्टा घर फर्किए
-हज़ूरबा को कोठामा सरासर गए
उहाँ केहि लेख्दै हुनु हुन्थ्यो
खाट को छेउ मा बसे अनि भने-
हज़ूर बा म मंदिर गाको
अनि मैले मेरो दुइटै फुर्ती त्यही छोडेर आए |
मंदिर जाने नै आफ्नो फुर्ती छोड्न त हो
अनि मैले फेरी भने – तर बिना फुर्ती बाटोमा हिंडन पनि हुँदैन रैछ ।।। खूब खुट्टा पोल्यो||| यस्तरी हेर्दा रैछन्
मान्छे की जन्तु भनेर
हज़ूरबा मज्जाले हास्नु भो
“तैले भनेको यो कुरा न बिर्सिनु है। ”

आज जनकपुरमा कोही छैन
त्यों सहर मेरो लागी शून्य सरी
पथ्लैया देखिन पूर्ब पथ छैन जस्तो भाको छ
त्यहाँको समझना मात्रै छ मुटु भरी
मेरो मुटु- त्यही भाकरी जस्तो
जस्ताको छानामा समयले रंग लगाएको छ
खुसीको अनिकाल पर्यो भने कहिलेकाही त्यही पुगेर खुसी खोतल्छु

आज हज़ूरवुवा हुनु हुन्न

kaathmandu
धेरै फरक छ हज़ूर बुवा
यहाँ सब फुर्ती मात्रै लगाउछन्
मोटर साइकल त कति कति
साइकिल-रिक्सा चलाउने निकै थोरै छन्
यहाँ त साइकिलमा फुर्ती जोडेर नै बेच छन् ब्यापारी हरु
सब को पुरपुरो बिधाताले पेट्रोलले भरी दिएको छ
कहिले काही त मलाई पनी हजुरको कुरा गफ जस्तो लाग्छ
हज़ूर फुर्ती न गर्नु भनीसिन्थियो
के को फुर्ती नगर्नु
पहिले को कान्ति पुर, ललित पुर, कीर्ति पुर अहिले फुर्ती पूर भको छ
यहाँ कोही कोही जन्तु हरु मंदिर भित्र
फुर्ती लगाएरै पस्छन…