चुराको गीत

बेलुकी को भात ले मात लागे झैँ

कुम्भ कर्णलाइ आइडेन्टिटि क्राईसिस् दिने सुरमा

म भुस्  छु!

बिहान सात बजेको छ

मेरो बिछ्यौना छेउको चाइनिज घडी म जस्तै अल्छि छ

किन हो कुन्नि साढे छ बजेको अलार्म कहिले बज्दैन !

मेरो कानमा  पर्ने पहिलो आवाज-

मेरी आमाको हातका चुराहरु एकअर्कासँग

लडिबुडी खेल्दै खन्-खन् गर्छन ।
आमाको हात हरेक बिहान गाईको काचो  दुध गन्हाऊछ

गोठालो दाई हामी कहा दुध ल्याउने मान्छेको नाम हो

उसले देख्ने बिहानी सायद अरु कसैले देख्दैन होला

तर उसको बिहानीको दौड हाम्रो घरमा आएर बीच्किन्छ

ठिक उसै समय पहाड बाट रवि  निस्किन्छ

अनि क्यान देखि किटली सम्म दूध सररर

केहि आमाको हातमा पर्छन्

आमाको हात हरेक बिहान गाईको काचो  दुध गन्हाऊछ
मैले सुन्ने मिरमिर को चिरबिर गीत चराको होइन

चुराको हुने गरेको छ,

अन्धकार चिर्रदै भान्सामा आमाका हातहरु

क्लकवर्क झैँ चल्छन्

पहिले दुध बसाल्ने, अनि चिया दानीमा चिया

घर भरि चियाको बास्ना चाही  बाबाको अलार्म क्लक हो

र त्यो अलार्मको ब्याट्री मेरी आमा
भै सक्यो सबेर उठ्न भयो अबेर

भन्दै आमा  उठ्न भन्दै घच-घच गर्छिन्

आज पनि कुम्भ कर्णलाइ जित्ने मेरो सपना भोलिको लागि स्थगित

जमाना को कुरा हो

आमा पधेरो धाउथिन रे

हिजोआज मोटर को तार मा इतिहास अटाउछ

बिहान टोस्टरमा पाउरोटी तात्छ

आमालाइ खुब आराम छ न दाउरा, न आगो

हिजो आज धुँवा भनेको त  बाबा को सुर्य  क्लासिक

र आमाको सेभेन स्टार अगरबत्ती भन्दा बाहेक अरु कतै बाट निस्किन्न ।

घरमा नित्य पुजा बाबा गर्नु हुन्छ

सामग्री आमा जुटाउ छिन्

फुल कलिलो अनि रंग उज्यालो

अनि मन्द मन्द गोकुल धुप को वास्ना

मन कृष्ण कृष्ण गर्न विवस नै हुन्छ

तर आम धर्म  पढाउदिनन, पढाउन जान्दिनन् क्यारे

आमा मान्छेलाई  नमस्ते गर्न सिकाउ छिन्

बाबा देउतालाइ

मलाई भने देउता लै भन्दा मान्छेलाइ नमस्ते ठोक्न

गज्ज़ब रमाइलो लाग्छ ।
आमाको दाहिने हात भुङ्ग्रोले पोलेको छ

जमानाको कुरा हो रे,

मैले त भुङ्ग्रो भन्ने जन्तु  देख्या पनि छैन

कालो, घिन लाग्दो हुन्छ रे

हावा खान्थियो अनि आगो ओकल्थियो रे

आमा यस्तै दानवहरुसँग  भाडा कुटी खेल्दै हुर्किनु भो

आमाको बाल्यकालको  त्यहि साहसले गर्दा आज घरमा माम पाक्छ
आमाका  हातका  चुराहरु दिनभर खन्किन्छन्

आमा पनि एता-उता गर्छिन्

बस् ! लुगामा साबुन लगाउदा प्याट-प्याट फुटछन् क्यारे

आमा बाझो हात ले लुगा पसारछिन्

तर किन हो कुन्नि बाबालाई आमाको बाझो हात मनपर्दैन

बाबालाई आमाले धपेडी मरेको मन पर्दैन कि ?

बाबालाई चुरा खुब मनपर्ने हो !

बा को कुरा बा ले नै जानूँन्

मलाई त आमाको हातका चुरा चुपचाप बसेको हेर्न रहर लाग्छ

मेरो कपाल मुसर्र्दा, सुसाउछन् काँचका थकित बाला हरु

हातका सुन्दर कडीहरु

सुन्दर हातका कडीहरु

हातकाकडीहरु

हातकाकडीहरु

हत्कडीहरु ! हत्कडीहरु !
तीस दिन बाबा पसिन  गन्हाऊछन्

अनि बल्ल घर मा पैसा को बास्ना आउछ

हाम्रो सुनसान घर एकाएक बाहुनडाँगी हुन्छ

हात्तिहरु चहलपहलको साथ घर भित्र पस्छन्

पातला र कडक हात्तिहरु

हाम्लाई इस्कुल लैजाने हात्तिहरु

माम खुवाउने हात्तिहरु

नाना दिलाउने हात्तिहरु

अनि सारा हात्तिको बथान चलाउने आमाका हातहरु !
अब एक दिन को कथा म सुनाउछु

सरकारबाट कर्मचारी आयो

हाम्लाई कागज देखायो

संख्यामा चडायो

चार जन को परिवार

दुइ सन्तान,

बा खरदार

अनि

मेरो कर्मनिष्ठ आमाको नामको बगलमा लेख्यो त्यसले– ‘बेरोजगार’ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s